Story- मेरो पट्टु - Buddhi Sagar


‘बुद्धि उठ्।'

यसपल्ट सुगा एकपल्ट मात्र करायो अनि उसका पखेटा भ्यात्त भ्यात्त फड्फडाए। म निद्रामै थिएँ। झस्किदै उठेँ, सुगा किन यसरी करायो?
कठै, पिँजरा बेस्मारी हल्लिरहेको थियो। त्यसमा सुगा थिएन। पिजराका खियादार मसिना तार भाँच्चिएका थिए।

लौ, केले तानेर लग्यो सुगालाई?

मेरो मुटु चिसो भयो। पिजरा झुन्डिएकै ठाउँनेर दुई घरका भित्ताबीच मसिनो चर थियो, त्यतै लगेको हुनुपर्छ। चर मान्छे पस्न सक्ने खालको थिएन। भित्रसम्म चिहाएँ, केही देखिनँ।

के गरूँ के गरूँ भयो।

अत्तालिएर फेरि पिजरातिर हेरेँ, त्यो अझै हल्लिरहेकै थियो। सुगाका चुडिएका प्वाँख भने हुरी चल्दा खसेका सालका हरिया पातझैं झरिरहेका थिए।
...

४८ सालतिरको कुरा होला, कैलाली, मटेराको। म कक्षा ५ मा पढ्थेँ। स्कुल जान भनेर घरबाट त हिड्थेँ तर दिन सालघारीमा घुमेर बिताउथेँ। त्यसमा मलाई पूर्णेले साथ दिन्थ्यो, ऊ पढ्नमा भन्दा रुख चढ्नमा सिपालु थियो। कतै रुखका प्वाल देख्यो कि हात छिराइहाल्थ्यो। एकपल्ट त सर्प गुडुल्किएको प्वालमा हात छिराएछ, अत्तालिदै रुखबाट भाचिएको हाँगाझैं तल खसेको थियो। रुख होचो थियो, त्यसैले खासै केही भएन। तर, तीन दिनसम्म खोच्याउदै हिँड्यो। रुखबाट खस्दा उसका अन्डकोश बेस्मारी ठोक्किएर साइजभन्दा डबल भई फुलेका थिए रे।

पूर्णेको शरीर हरेक दिन कतै न कतै ददारिन्थ्यो। अनुहार पनि त्यस्तै धर्कैधर्काले भरिएका थिए। रुख चढेको थाहा पायो कि बाउले पिच्च पिच्च सुर्ति थुक्दै हातमा जे आउँछ त्यसैले हिर्काउँदै सारा मटेराभरि उसलाई फनफनी रिगाउँथे।

मलाई रुख चढ्न डर लाग्थ्यो। त्यसैले कर गरीगरी उसलाई लिएर म सालघारी फन्का लगाउथेँ। किनभने, मलाई सुगा चाहिएको थियो। मटेराका घरहरूमा त त्यति सुगा थिएनन्, थारू गाउँमा त घरैपिच्छे सुगा।

ती सुगा मान्छे देख्नेबित्तिकै पिजराभित्र फनफनी घुम्दै कराउँथे, ‘राम, राम ... राम, राम।'

मलाई पनि यस्तै 'राम, राम' भन्ने सुगा पाल्ने रहर पलायो। एकपल्ट आमासित रोईकराई पनि गरेको थिएँ, सुगा ल्यादिनू के!
‘तेरा बाले मार्छन्' भन्दै आमाले डर देखाइदिनुभएको थियो।

बालाई सुगा पालेको मन पर्दैनथ्यो। मलाई सधैं बाको मुड्कीदेखि डर लाग्थ्यो, त्यसैले रहर मारेँ। सालघारीमा फेरि पात पलाउन थालेपछि मेरा रहर पनि पलाए। फेरि मैले थाहा पाइसकेको थिएँ - थारूहरूले त सबै सुगा रुखका टोड्काबाट झिकेर ल्याएका हुन् रे।

उराठलाग्दो गर्मीको दिन थियो। घारीमा दिनभरि बेसरम लुकीचोरी खेलेर पूर्ण र म सालघारी लाग्यौं। अचानक मैले एउटा सुगा भुर्र उडेको देखेँ। सुगा अग्लो सालबाट उडेको थियो।

‘एई पूर्णे हेर्त सुगा उड्यो,' मैले अत्तालिदै भनेँ, ‘यो रुखमा सुगाको गुड छ कि क्या हो?'

सूर्य ठ्याक्कै रुखको टुप्तातिर थियो, त्यसैले एकछिन उसले निधारमा ख्याप्प हत्केला राखेर माथि हेर्‍यो।

‘छ जस्तो छ' भन्दै उसले मैलो झोला भुइँमा फाल्दै बादरझैं रुख उक्लिन थाल्यो। स्यार्र स्यार्र पाइतालाले आफूलाई माथि धकेल्दै एकैछिनमा ऊ रुखको टुप्पातिर पुग्यो। एकछिन अल्मलियो।

लौ, टोड्को भेटेजस्तो छ।

उसले मतिर हेर्दै मुस्कुराउँदै टोड्कामा हात छिरायो। म तर्सिएँ - ए बा, फेरि टोड्कामा सर्प भेटिने हो कि?

एकछिनसम्म टोड्को छामछुम गरेपछि पूर्णे मतिर हेर्दै खिस्स हास्यो। मैले थाहा पाइहालेँ, सुगा रैछ। खुसीले मेरा कुर्कुच्चा उचालिन थाले। पूर्णेले सावधानीपूर्वक सुगा सर्टको जेबमा हाल्यो र हतारिदै बाँदरझैं स्यार्र स्यार्र तल झर्न थाल्यो।

‘एउटै रैछ क्यार्नि?' उसले पाइन्टको घुँडानेर लागेको धुलो टक्टकाउादै सोध्यो।

‘मलाई दे न।'

‘नाइँ, म पाल्छु' भन्दै उसले जेबबाट सुगा झिक्दै हत्केलामा राख्यो।

सुगा ठ्याक्कै एक पाउको मासुको डल्लोजस्तो थियो। छाला भुत्लाएको कुखुराको जस्तो देखिन्थ्यो। आँखा पनि उघि्रएका रैनछन्।

‘मलाई दे न,' रूँला रूँला जस्तो गरेर भने।

उसले एकछिन सोच्दै ‘ला त' भनेर सुगा मतिर बढायो।

सुगा मेरो हत्केलामा आयो। उसको ज्यान काँचो माटोझैं नरम थियो र चुच्चो सिन्दुर पोतिएजस्तो गुलाबी। एकछिन ढुंगाझैं शान्त भएपछि सुगा चल्मलायो। नंग्रा मेरा हत्केलामा बिझाए। र, अचानक उसले आफ्नो चुच्चोले मेरो चोर औंला क्याक्क पार्‍यो।

दुखाइले मेरा आँसु पित्रिक्क निस्किए। म दुवै हत्केलाबीच सुगा च्यापेर घरतिर दगुरेँ। सुगाको ढुकढुकी बढ्दै गयो। अनि मलाई लाग्यो, मैले मुटु हत्केलामा च्यापेको छु।

...

‘फेरि काँबाट ल्याइस्,' चल्मलाउन छाडेको सुगा देखेर आमा बम्किनुभो, ‘तेरा बाले मार्छन्।'

साँझ बा आएपछि जे त होला।

म सुगालाई काँ राखूँ भनेर अल्मलिएँ। बिरालो पनि मेरो हातको सुगा देखेर मेरा गोडामा लडीबुडी गर्न थाल्यो। बिरालो हाम्रै घरमा हुर्किएको थियो, दुधकै साक्षी राखेजस्तो पनि हुने।

‘कुन दिन यसले एक गाँस बनाउँछ, अनि थाहा पाउँछस्,' बिरालोतिर हेर्दै आमाले शंका देखाउनुभो।

‘पिजरामा राखेपछि खान्न।'

‘किन यस्तरी हुक्क पार्छस् यई?' आमाले सुस्केरा हाल्नुभो।

म बोलिनँ।

दैलोछेउको डेरीमा पुरानो बोरा फेला पारेँ र सुगालाई त्यसमै छोपछाप पारेर डेरीमाथि राखेँ।

‘साँझ बाउको थप्पड खाइस् भने रुँदै मकहाँ नआउनू' भन्दै आमा भान्सातिर लाग्नुभो।

मैले फेरि बोरा अलिकति माथि उठाउँदै बिस्तारै काँपिरहेको सुगालाई हेरेँ। भोक लागेर होला सायद। थारूहरूले फट्यांग्रा खुवाएको खुवायै गर्थे, त्यसैले म फट्यांग्राको खोजीमा खेततिर दगुरेँ। बिरालो पनि पछि लाग्यो, पुच्छर नचाउँदै।

गहँुका हरिया पातमा एउटा फट्यांग्रा देखियो। म हातखुट्टा टेकेर लम्किएँ। सुस्त बिरालोले पनि पछ्यायो। पछाडिको एउटा खुट्टा के समाएको थिएँ, फट्यांग्रा छट्पटायो। मैले हतार-हतार फट्यांग्राका सबै खुट्टा उखेलेँ, टाउको निमोठिदिएँ। आखिर फट्यांग्रो ठूलो गहँुको गेडोजस्तो देखियो। करिब आधाघन्टाभित्रमा मेरो सर्टको गोजीमा पाँच-छ वटा फट्यांग्रा जम्मा भए।
म सुगातिर दगुरेँ।

बेलाबेला मेरा हत्केलामा ठुँग्दै सुगाले चारवटा फट्यांग्रा खायो। र, फेरि चल्मलाउन छाड्यो।

साँझ बा भान्सामा भात खाँदै हुनुहुन्थ्यो। म बाकै छेउमा थिएँ। सुस्त केही कराको आवाज आयो। आमाले मतिर हेर्नुभो।

मैले चुपचाप भात खाइरहेँ।

फेरि सानो आवाज आयो।

‘जा मर् त। सुगा कराको होला,' आमाले भन्नुभयो। बाको डरले थुरथुर काप्दै बाहिर दगुरँे।

बोराभित्र सुगा चल्मलाइरहेको थियो। मैले गोजीमा दुइटा फट्यांग्रा भेटेँ र सुगालाई दिएँ।
घरभित्र जान डरलाग्यो। अबेरसम्म बाहिर उभिरहेँ।

‘एई भात खा। फेरि काँ मरिस्?' आमा कराउनुभो।

म लुरुक्क भित्र पसेँ।

‘सुगा ल्याछस्?' बाले शान्त आवाजमा सोध्नुभो।

म शिर निहुराएर उभिइरहेँ।

‘जाँबाट ल्याथिस्, भोलि त्यैं लगेर छोडेस्। नत्र मुड्क्याउँछु,' बाले अगेनाको अगुल्टो चलाउँदै भन्नुभयो, ‘अब भात खा।'
बिरालोको डरले मैले सुगा रातभरि आफ्नै पलङमुन्तिर लुकाएँ। बेलाबेला ब्युँझिएर के गरिरएको छ हेर्थें।
बा बिहानै हिँडिसक्नुभएको रैछ। म भने ज्यान गए पनि सुगा छोड्नेवाला थिइनँ। डेरीकै छेउछाउमा लुकाएर राख्न थालेँ।
एकहप्ता पछि, सुगा घरमै भएको थाहा पाएर बा मुर्मुरिनुभो, ‘पाजी, सुगा मरेको थाहा पाए भने मुड्क्याउँछु।'
बाको यही धम्कीसँगै मैले घरमा सुगा पाल्ने अनुमति पाएँ।
...


फट्यांग्रा र जुठो भात खाँदाखाँदै सुगा हुर्कियो।

बिस्तारै सुगाका आँखा उघि्रए। आँखावरिपरि रंगीन घेरा बसे। चुच्चो झन् गुलाबी हँुदै गयो। र, एकदिन सुगाका पखेटाभरि सलाईका काँटी रोपेजस्ता प्वाँख उमि्रए।

बिरालोले पनि सुगालाई घरकै सदस्य मानिसकेको थियो, दिनभरि लर्खराउँदै आँगनमा हिँडिरहेको सुगालाई हेर्दै टोलाउँथ्यो। बेलाबेला सुगालाई जिस्काएझैं झम्टिन खोज्थ्यो, खेलेझैं।

आखिर पखेटामा वसन्त आएझैं सुगाका प्वाँख बाँसझैं हरिया हुँदै गए। अनि त, भुवादार मुलायम प्वाँखले पखेटा भरिए। बेलाबेला सुगा उड्न खोज्थ्यो। त्यही डरले मैले उसलाई डेरीभित्र राख्थेँ र डेरीको प्वाल कार्टुनले छोप्थेँ।

एकदिन आमाले कैंची दिँदै भन्नुभो, 'ला ... प्वाँख काटिदे। नत्र उड्छ।'

प्वाँख रेटिएपछि सुगा हुरीले पात झारेको रुखजस्तो खङरङ्ग पर्‍यो। भ्याट भ्याट पखेटा तन्कायो र लुत्रुक्क पर्‍यो।

सुगा हुर्किदै त गयो तर बोल्ने सुरु गरेन। मलाई त मान्छे घरमा आउनेबित्तिकै 'राम, राम' भन्ने सुगा चाहिएको थियो। यस्तो ठुस्स परेर बस्नेवाला त होइन। बेलाबेला बिरालोले झम्टिन खोज्दा एकदुई पल्ट कराउँथ्यो, अनि दिनभरि शान्त।

'खुर्सानी ख्वाउनुपर्छ ... बोल्छ,' मेरो समस्या सुनेर पूर्णेले सिकायो।

'अनि राम, राम भन्छ?'

'भन्छ। सबै थारूले सुगालाई खुर्सानी पो ख्वाउँछन्।'

खुर्सानी त घरमै फालाफाल। बारीमा गएर एउटा हरियो 'जिरे खुर्सानी' ल्याए। सुगा भान्साको संघारतिर मुडुलो पुच्छर नचाउँदै घुमिरहेको थियो। बिरालो अल्लि पर भुइँमा च्यापु अड्याएर चिम्सा आँखाले हेरिरहेको थियो।

'पट्टु ... पट्टु' भन्दै सुगालाई च्याप्प समाएँ र चुच्चो च्यातेर खुर्सानी कोचिदिएँ। उसका पखेटा बेस्मारी फड्फडाए। उड्न खोज्यो, सकेन। बुथु्रक-बुथु्रक उफ्रिदै आँगनभरि फन्का लगाउन थाल्यो।

अचानक... ह्वात्त चिलले सुगालाई समायो र स्वात्त आकास उक्लियो।

मेरो सास घाँटीमै अड्केलाजस्तो भो। म खाली खुट्टा त्यतातिर दगुरेँ, जता चिल हुइँकिइरहेको थियो। चिलका लामालामा नंग्रामा कैद सुगा आकासै च्यातिने गरी कराउन थाल्यो। मेरो हिक्का छुट्लाजस्तो भयो।


पर ... खेत जोतिरहेका कान्छाबाले म रुँदै दगुरिरहेको देखेँ। एकछिन उनले अचम्म मान्दै हेरे र चिच्चाए, 'के भो ... कान्छा किन रोको?'

'मेरो पट्टु लग्यो।'

उनले आकासतिर हेरे। चिल धेरै माथि पुगिसकेको थिएन। एउटा माटोको डल्लो समाए र चिलतिर हुर्‍याए। डल्लो बत्तिँदै चिलको छातीतिर बजि्रयो। स्वात्त... सुगा भुइँतिर झर्‍यो। हतारिँदै कान्छा बाले सुगालाई च्याप्प समाते र भने -

'लौ भाग्य र'छ ... फेरि पायौ ... अब खुल्ला नछोड्नू।'

मैले डरले थुरथुर कापिरहेको सुगालाई लिएँ। यसपल्ट उसले चोर औंलाको छाला निस्किनेगरी ठुँग्यो। औंलाबाट रगत रसायो। म दुखाइले छट्पटिँदै घरतिर दगुरेँ।

'नपाल भनेको मानिनस्... धन्नै चिलले खाथ्यो,' आमाले मेरो बेहाल देखेर भन्नुभो।

मेरो रगतले सुगाको एउटा पखेटा लुछुप्पै भिजेछ। मैले सुगालाई डेरीको ढक्कन खोलेर भित्र हुलिदिएँ। सुगा अबेरसम्म कराइरह्यो। आमाले फुँफुँ गर्दै मेरो औंलामा मलहम दलिदिनुभो।

साँझ भात खानेबेला मेरो सुन्निएको चोर औंला देखेर बाले हर्कानुभो, 'फेरि के बिठ्याइ गरिस्, भन्?'

म टाउको निहुराएर बसिरहेँ।

आमाले नै दिउसोको चिल-सुगा र मेरो कथा सुनाइदिनुभो। त्यसपछि बा बोल्नुभएन, भोलिपल्ट बजारबाट फर्किदा भने बाको हातमा गोलो पिजरा झुन्डिरहेको थियो।
...

'पट्टु... पट्टु।'

पिन्जरामा हुलेको तीन-चार दिनपछि बल्ल सुगाले बोल्यो। खुसीले मेरा हातगोडा काँपे। त्यो सुनेर आमा पनि मुसुमुसु हाँस्नुभो।

पिजराभित्र फिजाउँदा-फिजाउँदै सुगाका पखेटा फेरि पलाउँदै गए। खानाका लागि मैले पिजराभित्रै सानो कटौरा राखिदिएको थिएँ। त्यसैमा भात, खुर्सानी र पानी आमा र मैले पालैपालो राखिदिन्थ्यौं।

करिब एक महिनासम्म 'राम, राम भन्, पट्ट'ु भनेर म कराएपछि एकदिन सुगाले टर्रो आवाजमा दोहोरायो, 'राम, राम'।

लौ, मैले भनेको पुग्यो, सुगा बोल्ने भो। त्यसपछि त नयाँ मानिस घरमा देख्यो कि सुगा कराइहाल्थ्यो। एकदिन बा आउँदा पनि 'राम, राम' भनेछ। बाले रमाइलो मान्नुभो।

बिरालो पनि सुगासँग नजिकिइसकेको थियो। बुरुक्क उफ्रिदै पिजरालाई झम्टन खोज्थ्यो, सुगा पनि पिजराभित्र फनफनी नाच्थ्यो। सुगा र बिरालोको यस्तो खेल, भर्खरै लभ परेका किशोरकिशोरीको ठट्टाजस्तो लाग्थ्यो।

एकपल्ट सुगा दिनभरि टर्रो आवाज निकालेर पिजराभित्र छट्पटाइरह्यो। जे खान दिएपनि शान्त भएन।

'किन यस्तरी करा छ?' आमाले भन्नुभो। 'पिजराभित्र गुम्सिएजस्तो छ। खोल्दे त।'

'नाइँ' भन्दै म अत्तालिएँ।
'खोल्दे, भाग्दैन,' आमाले भन्नुभयो।

जे पर्ला पर्ला भनेर मैले पिजरा खोल्दिएँ। सुगा पखेटा फिजाउँदै बाहिर निस्कियो। उड्न खोज्दा एकछिन आँगनमा पछारियो। फेरि प्रयास गर्‍यो, अलिकति माथि उड्यो। बिचराका पखेटा कुजिएछन्। र, एकछिनपछि भुर्र उड्दै आँगनछेउको डुम्रीको रुखको हाँगामा थपक्क बस्यो। अनि यताउता उड्दा उड्दै किम्बुको रुखका हाँगा हुँदै देखिन छाड्यो।

मेरो सातो उड्यो, लौ अब सुगा गयो।

तर, सुगा साँझपख्ख त आँगनमा आइपुग्यो। त्यो देखेर बिरालो झम्टिन गयो। भुर्र उड्दै सुगा मेरो छेउ आयो र मेरा हत्केलामा थपक्क बस्यो। मेरो हर्षको सीमा रहेन।

केही दिनपछि मेरो हर्षले खुसीको सगरमाथा नाघ्यो, एकाबिहानै सुगा करायो, 'एई बुद्धि, उठ्।'

बिहान-बिहान आमाले भन्ने वाक्य उसले सिकेको थियो। त्यसपछिका दिनमा त आमा कराउनुअघि नै सुगा कराइहाल्थ्यो, 'एई बुद्धि, उठ।'

बिहान-बिहान कराउने आमाको टन्टा पनि साफ भो।
...


करिब एक वर्षपछि हामी मटेराबाट बजार कटाक्षे सर्‍यौं।

बिरालो पनि पछि लाएर आयो। सुगालाई त छोड्ने कुरा भएन। बजार आएपछि सुगा र बिरालो केही आतंकित देखिन्थे। पिजरा मेरो सिरानछेउ माथिपट्टि झुन्डियो। बजारमा अल्मलिएला भनेर सुगालाई पिजराबाहिर निस्कन मनाही भो। बिरालो पनि घरबाट बाहिर निस्किदैनथ्यो, दिनभरि घरमै हुन्थ्यो। एकदिन बजारका लुते कुकुरले लखेटेर उसको सातो लिएछन्।

बजारमा मेरा त्यति साथी थिएनन्, सुगा र बिरालो नै साथी भए। म दिनभरि तिनैसँग खेलेर बस्थेँ।

सुगाले भने गल्लीमा हिँड्ने सारा मानिसलाई 'राम, राम' भनेर नै खुसी बनायो। टर्रो 'राम, राम' सुनेर मानिसहरू सुगातिर हेर्थे र अचम्म मान्थे। कसैले जवाफ पनि फर्काउँथे।

पिजरा मेरो सिरानछेउ झुन्डिन थालेपछि, मैले कहिर्ल्यै अबेरसम्म सुत्न पाइनँ। बिहान भयो कि सुगा कानका जाली फुटाल्ने गरी कराउँथ्यो, 'एई बुद्धि, उठ्।'

मेरो जीवनको एउटा लय बनिसकेको थियो।


तर, बजार सरेको छ महिनापछि, एक बिहान सुगा एकपल्ट मात्र करायो। जब मैले पिजरातिर हेरेँ, त्यहाँ सुगा थिएन।

सुगाको अन्तिम भ्याट् भ्याट् सुनेर आमा पनि भान्साबाट बाहिर आउनुभो। रित्तो पिजरा बेस्मारी हल्लिरहेको थियो।

'ढाडेले खायो कि क्या हो?' आमा अत्तालिनुभो।

मैले हिक्का थामेर घरका कुनाकाप्चा र चेप खोजेँ। सुगा कतै भेटिएन। सुगाको एउटा प्वाँख भने दुई घरबीचको साँघुरो चेपमा अल्भि्कएको थियो। सुगालाई त्यतै लगेको हुनुपर्छ, मैले सोचेँ, तर केले?
...



साँझपख्ख थाहा भो, सुगालाई आफ्नै बिरालोले खाएछ।

'देउताजस्तो थ्यो बिरालो।' राति आमाले निरस स्वरमा भन्नुभो, 'सहराँ आएपछि राक्षस भो।'

त्यसपछि बिरालो घरमा देखिएन। 


26 डिसेम्बर 2009 मा नागरिक दैनिकमा प्रकाशित

No comments:

Post a Comment